भारतिय साहित्यकार हिमांसु जोशीको बिख्यात उपन्यास "कगार की आग" को भागीरथी श्रेष्ठद्धारा नेपालीमा अनुवादित उपन्यास "अग्नि पर्व" पढ्दै गर्दा एक ठाउँमा पुगेपछि किताव सिताब फालेर रुन मन लाग्यो । सँधै जसो देखे/भोगेको जस्तो लाग्ने यो उपन्यासका घटना र पात्रहरु हाम्रै गाउँ/ठाउँका हुन् कि जस्तो लाग्यो । उपन्यासको कुनै कुनामा लेखिएको थियो "अनि भाउजु, दाजुलाई कुनै राम्रो डाक्टरकहाँ लगेर नजँचाएको त?" पल्टनबाट फर्केको देबरले भाउजु गोमतीलाई अचानक दाजु मानसिक रोगी भई बेसुरे भएको देखेपछि खिन्न हुँदै सोध्छ । प्रत्युत्तरमा गोमती उत्तर दिन्छे "किन नजँचाउनु नी! अस्ती नै पशु डाक्टरकहाँ लगेर देखाएको केही बिसेक भएन ।" छक्क परेर सम्झाउँदै देवरचाहि भन्छ "लौ भाउजु, पशु डाक्टरले त जनावर बिरामी भएको पो जाँच्छ त मान्छे कहाँ जाँच्छ ?" खुइय गरेर भावुक हँदै गोमती उत्तर दिन्छे "हामी मान्छे नै कहाँ हौ र देवर बाबु! हामी त जनावर हौ ।" एउटी दलीत महिला समाज र परिवारसँग जुध्दै आफ्नो विवेकहिन, बेसुरे र निरिह पति र निर्दोष छोराको रेखदेख गर्छे । आफ्नै भनेकाहरुबाट पिल्सएर, लुटिएर दुनिया चहार्छे पति र छोराको मुक्तिका लागि । जता पनि ठककर सिवाय केहि पाउँदिन। अन्तमा जव उसको निरिह पति जो जिउँदो लास भएर बाँचिरहेको थियो, मारिएको पाउँछे अनि सायद बिद्रोहको अठोटका साथ त्यो गाउँ छोड्छे, त्यो ठाउँ छोड्छे मर्न आँटेको छोरो लिएर । कसैलाई थाहा छैन गोमती कहाँ गई ? कुन्नु अहिले कहाँ छ ? हिजो राती गाउँलेहरुले देखेका थिए रे एउटी जगल्टा फिजाएको आईमाईको आकृति एउटा सानो बच्चाजस्तो लाग्ने आकृति एक हातमा र अर्को हातमा राको लिएर जंगलबाट गाउँतर्फ आउँदै थियो सायद त्यो नरकमय गाउँ जलाउन । गाउँलेहरुले गोमती र कुन्नुको भुत आयो भनेर ढोका थुनथान गरेर बसेछन् । तर मलाई नेपालमा पनि पाइला पाइलामा गोमती र कुन्नुहरु छन् झै लाग्छ कता कता । यो उपन्यास भारतको उत्तर प्रदेशमा घटेको यथार्थ कथा थियो तर अब बिकासोन्मुख देशका मानिसहरुको साझा कथा भएको छ । एकपटक पढौँ ल!