Monday, June 23, 2008

"राष्ट्रपति पद" का कारण पारपाचुके

राष्ट्रपतिका लागि भएको महाभारत सहन नसकी यो खोक्रो दिमागमा केही हावा कुरा खेल्न थाले र केही लेख्न मन लाग्यो । विश्वमै उत्कृष्ट राजनैतिक मोर्चा र सहमति निर्माण गर्दै अघि बढेका काँग्रेस र बाम घटकहरुबिचको सहकार्य र सहयात्रा अन्ततोगत्वा पारपाचुकेको स्थितिमा पुगेको छ । माले, मसाल र मण्डले एकै हुन भन्ने प्रधानमन्त्री कोईराला नेपाली राजनीतिमा माओवादीको शसस्त्र जनयुद्धको खतरनाक उडानलाई शान्तिपुर्ण अवतरण गराउन तिनै माओवादीको साथ दिन पुगे । एक हिसाबले हेर्ने हो भने ठुला सत्रुलाई पराजित गर्न साना सत्रुको साथ लिएर त्यसलाई निमिट्यान्न पार्ने र पछि तिनैको छातीमा टेकी टाउकोमा प्रहार गर्ने माओवादी नीति यहाँ आएर सफल भएको छ । काँग्रेस र एमालेका एकाध गम्भिर त्रुटीका कारण माओवादीले आफ्ना एजेण्डाहरुलाई अकाट्य र अपरिहार्य सावित गरिदियो । राजालाई हर हालतमा मास्ने नीति सफल पार्न काँग्रेससँग मिल्यो तर काँग्रेसको यो सहकार्य बाध्यता थियो अनि माओवादीको कुटनीति । अव राजतन्त्र मासिए पछि माओवादी र काँग्रेस पारपाचुकेको स्थितिमा पुगेका छन् । पहिला कोईराला नेतृत्व अत्यावस्यक लाग्यो माओवादीलाई तर अब अहिले माओवादी कोईरालालाईनै मिल्काउने तयारीमा जुटेको छ । कोईराला कसैसँग पनि घुँडा नटेक्ने वताउँछन् तर स्थिति घुँडा टेक्नै पर्ने देखिइएको छ । राजापछि माओवादीको निसाना काँग्रेस देखिइएको छ । बाम एकता र ध्रुविकरण भएमा काँग्रेसको गौरवमय राजनैतिक हैसियतमा गम्भिर धक्का लाग्नेछ । कोईरालाको एकछत्र शासन रहेका बेला फुलेर फलेर आएको माओवादी बिद्रोह एक हदसम्म सत्ताको गन्तव्यमा आईपुगेको छ । युद्धको मोर्चामा त माओवादीले जिते जिते अब चुनाबी मोर्चामा पनि कोईरालाको हार भएको छ । माओवादीलाई जनमत प्राप्त नहुँदै संविधानसभाको चुनाव गराएको भए सायद आज कोईराला विश्वकै उत्कृष्ट शासक बन्ने थिए होलान् अनि १५००० मानिसहरुको ज्यान र अर्बौको भौतिक क्षति राज्यले ब्यहोर्नु पर्ने थिएन । इतिहास मेट्न कसैले सक्दैन नत्र माओवादीलाई कोईराला छाडेर रामराजा भन्ने नामै नसुनेको व्यक्ति खोज्न जानुपर्ने थिएन । पार्टीभित्र तिव्र विवाद र असन्तुष्टि हुँदाहुँदै पनि गणतन्त्र स्विकार्नु कोईरालाको अर्को पराजय थियो किनकि त्यो माओवादीको एजेण्डा थियो । काँग्रेस यो ऐतिहासिक निर्णयपछि जनताको रहर बुझ्न तिर त लाग्यो तर माओवादीले एउटा अर्को मोर्चामा बैधानिकता हासिल गर्यो । प्रचण्डपथले माओवादीलाई सत्तमसम्म त पुर्यायो तर उसको आगामी दिनहरु कस्ता हुनेछन् त्यो त भविष्यको गर्भमा नै लुकेको छ । तर यदि यहि नै कोईरालाको राजनैतिक अगुवा नेतृत्वको अवसान भएमा त्यो दुखद हुनेछ । राजनैतिक स्थियित्व कायम गर्न कुनै एक पक्षले हार्नु अत्याबस्यक छ र सायद अव काँग्रेसको राजनैतिक एकाधिकारको पनि करिब करिब अन्त्य भएको छ । अरुको अन्डरमा काम गर्दिन भनेर कोईरालाले भनेका छन् अनि माओवादीले गर्दन फुलाएर मै नेतृत्व गर्छु भनेको छ । बिगतमा एमाले र माओवादीभन्दा मात्र १० सिट बढि भएकोले ठुलो पार्टीका हैसियतले काँग्रेसले अर्थ, रक्षा, गृह, प्रधानमन्त्री लगायतका पदहरु पाएको थियो र माओवादी त्यही परम्परालाई कायम राख्न चाहन्छ तर काँग्रेस नेपाली राजनीतिमा आफ्नो बोलवाला गुमेको हेर्न चाहदैन । कोईरालालाई राष्ट्रपति दिनु भनेको प्रचण्डसँग कुस्ती खेलाएर संविधान निर्माणमा अलमल गर्नु हो । कोईराला हारको बदला लिने सुरमा कस्सेर लागेका छन् । सेना कोईरालाकै अधिनमा बस्न चाहन्छ । सेनाले बिद्रोह गर्लाकि भनेर सायद नडराए होला किनकि कोईराला र राजाका बफादारहरु कमै होलान् त्यहाँभित्र । त्यसैले कोईराला अब नेपाली राजनीतिमा या त गान्धीझैँ अभिभावक भएर बस्ने या त राजनीतिबाट सन्यास लिएर नरहरी र गगन थापाजस्ता उदाउँदा सुर्यहरुलाई पार्टी चलाउने जिम्मेवारी दिने । यो समय युवाहरुको हो । समय हाम्रो हो ।

No comments: