Monday, June 23, 2008

"राष्ट्रपति पद" का कारण पारपाचुके

राष्ट्रपतिका लागि भएको महाभारत सहन नसकी यो खोक्रो दिमागमा केही हावा कुरा खेल्न थाले र केही लेख्न मन लाग्यो । विश्वमै उत्कृष्ट राजनैतिक मोर्चा र सहमति निर्माण गर्दै अघि बढेका काँग्रेस र बाम घटकहरुबिचको सहकार्य र सहयात्रा अन्ततोगत्वा पारपाचुकेको स्थितिमा पुगेको छ । माले, मसाल र मण्डले एकै हुन भन्ने प्रधानमन्त्री कोईराला नेपाली राजनीतिमा माओवादीको शसस्त्र जनयुद्धको खतरनाक उडानलाई शान्तिपुर्ण अवतरण गराउन तिनै माओवादीको साथ दिन पुगे । एक हिसाबले हेर्ने हो भने ठुला सत्रुलाई पराजित गर्न साना सत्रुको साथ लिएर त्यसलाई निमिट्यान्न पार्ने र पछि तिनैको छातीमा टेकी टाउकोमा प्रहार गर्ने माओवादी नीति यहाँ आएर सफल भएको छ । काँग्रेस र एमालेका एकाध गम्भिर त्रुटीका कारण माओवादीले आफ्ना एजेण्डाहरुलाई अकाट्य र अपरिहार्य सावित गरिदियो । राजालाई हर हालतमा मास्ने नीति सफल पार्न काँग्रेससँग मिल्यो तर काँग्रेसको यो सहकार्य बाध्यता थियो अनि माओवादीको कुटनीति । अव राजतन्त्र मासिए पछि माओवादी र काँग्रेस पारपाचुकेको स्थितिमा पुगेका छन् । पहिला कोईराला नेतृत्व अत्यावस्यक लाग्यो माओवादीलाई तर अब अहिले माओवादी कोईरालालाईनै मिल्काउने तयारीमा जुटेको छ । कोईराला कसैसँग पनि घुँडा नटेक्ने वताउँछन् तर स्थिति घुँडा टेक्नै पर्ने देखिइएको छ । राजापछि माओवादीको निसाना काँग्रेस देखिइएको छ । बाम एकता र ध्रुविकरण भएमा काँग्रेसको गौरवमय राजनैतिक हैसियतमा गम्भिर धक्का लाग्नेछ । कोईरालाको एकछत्र शासन रहेका बेला फुलेर फलेर आएको माओवादी बिद्रोह एक हदसम्म सत्ताको गन्तव्यमा आईपुगेको छ । युद्धको मोर्चामा त माओवादीले जिते जिते अब चुनाबी मोर्चामा पनि कोईरालाको हार भएको छ । माओवादीलाई जनमत प्राप्त नहुँदै संविधानसभाको चुनाव गराएको भए सायद आज कोईराला विश्वकै उत्कृष्ट शासक बन्ने थिए होलान् अनि १५००० मानिसहरुको ज्यान र अर्बौको भौतिक क्षति राज्यले ब्यहोर्नु पर्ने थिएन । इतिहास मेट्न कसैले सक्दैन नत्र माओवादीलाई कोईराला छाडेर रामराजा भन्ने नामै नसुनेको व्यक्ति खोज्न जानुपर्ने थिएन । पार्टीभित्र तिव्र विवाद र असन्तुष्टि हुँदाहुँदै पनि गणतन्त्र स्विकार्नु कोईरालाको अर्को पराजय थियो किनकि त्यो माओवादीको एजेण्डा थियो । काँग्रेस यो ऐतिहासिक निर्णयपछि जनताको रहर बुझ्न तिर त लाग्यो तर माओवादीले एउटा अर्को मोर्चामा बैधानिकता हासिल गर्यो । प्रचण्डपथले माओवादीलाई सत्तमसम्म त पुर्यायो तर उसको आगामी दिनहरु कस्ता हुनेछन् त्यो त भविष्यको गर्भमा नै लुकेको छ । तर यदि यहि नै कोईरालाको राजनैतिक अगुवा नेतृत्वको अवसान भएमा त्यो दुखद हुनेछ । राजनैतिक स्थियित्व कायम गर्न कुनै एक पक्षले हार्नु अत्याबस्यक छ र सायद अव काँग्रेसको राजनैतिक एकाधिकारको पनि करिब करिब अन्त्य भएको छ । अरुको अन्डरमा काम गर्दिन भनेर कोईरालाले भनेका छन् अनि माओवादीले गर्दन फुलाएर मै नेतृत्व गर्छु भनेको छ । बिगतमा एमाले र माओवादीभन्दा मात्र १० सिट बढि भएकोले ठुलो पार्टीका हैसियतले काँग्रेसले अर्थ, रक्षा, गृह, प्रधानमन्त्री लगायतका पदहरु पाएको थियो र माओवादी त्यही परम्परालाई कायम राख्न चाहन्छ तर काँग्रेस नेपाली राजनीतिमा आफ्नो बोलवाला गुमेको हेर्न चाहदैन । कोईरालालाई राष्ट्रपति दिनु भनेको प्रचण्डसँग कुस्ती खेलाएर संविधान निर्माणमा अलमल गर्नु हो । कोईराला हारको बदला लिने सुरमा कस्सेर लागेका छन् । सेना कोईरालाकै अधिनमा बस्न चाहन्छ । सेनाले बिद्रोह गर्लाकि भनेर सायद नडराए होला किनकि कोईराला र राजाका बफादारहरु कमै होलान् त्यहाँभित्र । त्यसैले कोईराला अब नेपाली राजनीतिमा या त गान्धीझैँ अभिभावक भएर बस्ने या त राजनीतिबाट सन्यास लिएर नरहरी र गगन थापाजस्ता उदाउँदा सुर्यहरुलाई पार्टी चलाउने जिम्मेवारी दिने । यो समय युवाहरुको हो । समय हाम्रो हो ।

Sunday, June 22, 2008

बाल श्रम उन्मुलनः नारामै सीमित


बाल श्रम सम्बन्धि अनेकौ अन्तराष्ट्रिय सन्धि महासन्धिहरु पारित गरिसकेको भएपनि नेपालमा त्यो केबल नारामै सीमित भएको छ । तीनीहरुको ब्याबहारिक कार्यान्वयनमा भने राज्यले चासो नै देखाएको देखिदैन ।

Wednesday, June 18, 2008

बिगतलाई फर्केर हेर्दा


दुई बर्ष अघि गएको पहिरोले बिस्थापित भएको एउटा परिवार ओडारमा बास गर्दै । त्यो भयानक र दर्दनाक दृष्य सम्झदा अहिले पनि कहाली लागेर आउँछ । फेरी पनि बर्षातको समय आएको छ साथै उहि पहिरोको डर पनि । सँधै अभावै अभाव र खतराका बिच जिउनु यीनीहरुका लागि ठूलो चुनौती भएको छ ।

Friday, June 6, 2008

जनआन्दोलन जारी छ !!!


राज्य अब ऐतिहासिक मोडमा पुगेको छ । संक्रमणकालको अत्यन्त नाजुक अवस्था सफलतापुर्वक पार गरिसकेपछि जनताले बिभिन्न आशा र आशंकाका बिच नयाँ (समृद्ध आधुनिक र न्यायपुर्ण) नेपालको सपनालाई साकार पार्ने प्रण गरेका छन् । अब राज्य एकाध व्यक्ति र समुहको स्वार्थको निम्ति चलाइने परम्परा तोडिनु पर्छ । राष्ट्रिय स्वाभिमान, पहिचान र एकतामाथि कुनै सम्झौता नगर्न अबको नेतृत्वलाई बारम्बार खबरदारी गर्नुपर्छ । साँढे दुई करोड नेपालीमध्ये कोहि पनि दायित्व एक अर्कालाई पन्छाई उम्कन मिल्दैन । ६०१ जना मात्रले केहि गर्न सक्दैन तसर्थ हामी सबै मिलेर उनीहरुको साथ दिनुपर्छ । राष्ट्रिय सम्पत्ति र सम्पदाहरुको आत्मघाती सम्झौताहरुमा सम्भव भए पुनरावलोकन गरिनुपर्छ र भविष्यमा त्यस्ता गतिविधिहरु गर्न गराउन दिनुहुदैन । हामी जनता अब वाचडग को भुमिकामा रहनुपर्छ । तेलको राजनीतिले त देशलाई खायो खायो अब चाँडै खाद्यान्नको राजनीति हुदैछ । यदि हामीले आफुलाई पुग्ने गरी कृषि उत्पाकत्व बढाएनौ भने हामी निकट भविष्यमानै अर्का चरम संकटमा फस्नेछौ। तर अब संयम भएर लाग्नुपर्छ । हामीसँग पानि छ सायद भविष्यको कुनै पानामा हामी पनि पानिको राजनीति गर्न सफल हुनेछौँ । भनिन्छ भारतलाई गास बास कपासभन्दा पनि बढि पानिको जरुरत छ । उ सँग धेरै खेतियोग्य जमिन छ तर पानि छैन । त्यसैले भारतले गंगा, ब्रम्हपुत्र टिस्टा जस्ता बिशाल नदिहरु जोडि भिमकाय नहरहरु बनाउने योजना ल्याएको छ जसलाई River linking Project नाम दिइएको छ । यदि त्यो योजना सफल भएमा हल्दिया बन्दरगाहमा चल्ने पानिजहाजहरु रुसको भोल्गा वाल्टिक नहरहरुभन्दा बिशाल नहरहरुमार्फत देशका भित्रि भागसम्म पुग्नेछन् फलस्वरुप भारतलाई कृषिले अतुलनिय रुपमा अगाडि लैजानेछ । त्यसले बंगालको खाडिमा खस्ने नदिहरुलाई सम्भवतः हिन्द महासागरमा खसाल्नेछ । तर त्यसको असर बंगलादेशलाई मात्रै नभई सबै एसियाली मुलुकहरुमा पर्नेछ मौसम परिवर्तनको कारण । भारत नेपालबाट बिशेषतः बिजुली र पानि चाहन्छ । नेपाली नदिहरुमा नेपालभित्रै बाँध बाँधि भारत पुर्याउने र नेपाल डुबाई भारतको उद्धार गर्ने उसको नीति केहि हदसम्म सफल भएको छ । भारतको बिकास होस् ठिक छ तर भारतलाई राम्रो बनाउन नेपाल बिगार्न मिल्दैन । वर्गसंघर्ष बाहेक सायद भारत र बिदेशप्रतिको अनाबश्यक बफादारिता र देशप्रतिको घात नै कथित जनयुद्ध र संघर्षको कारण थियो । तर अब हामी सचेत हुनु जरुरी छ । यदि बिकास गर्ने हो भने राज्य बलियो हुनुपर्छ । नेपालमा अमेरिकि, भारितय, चिनिया कुनै मोडेलको नीति हुबहु नल्याई तीनीहरुको राम्रा पक्षहरुलाई मात्र अनुसरण गर्नुपर्छ । पेट्रालको खपत कम गर्न धेरै यात्रु ओसार्न सक्ने ठुला गाडिहरु चलाउनु पर्छ र तीनीहरु बिजुलीबाट चलाउनु पर्छ । जनसंख्या बृद्धि कम गर्न बिशेष जोड दिइनुपर्छ । बिदेशिइएका दक्ष जनशक्तिलाई देशमा फर्कने वातावरण बनाउनुपर्छ । म बरु दिनमा एकछाक मात्र खाएर बाँच्न तयार छु तर स्वाभिमानी र आत्मनिर्भर देशको नागरिकका रुपमा बाँच्ने वातावरण बनाइयोस् । त्यसैले जनआन्दोलन सकिएको छैन र जारी रहिरहनेछ अबको नेतृत्वलाई सहयोग सहजिकरण र खबरदारी गर्न । जय नेपाल !!!!