Thursday, May 29, 2008

गणतन्त्र उर्लेर आयो……





"गणतन्त्र उर्लेर आयो, आउने थिएन जनताले बोलायो...." हँसिया हथौडाको चिन्ह कोरिएको लाल झन्डा बोकेर उर्लेको जनसागर नयाँ बजार पुग्दा यहि भाकामा गीत गाएको मैले सुनेँ । अलि पर पुग्दा केहि युवाहरुले राजतन्त्र बिरुद्धको आक्रोश पोख्दै गाए "के हुन्छ कुन्नी, किन होला हत्यारो ज्ञानेलाई छप्काउँदै हुन्नी...." केहि महिला र पुरुषहरु भने गाउँदै थिए "सीमली छायाँमा बसी भरिया लामो सास फेरेको उमेर भइसक्यो असी झन ठुला दुःखले घेरेको..." आँतै सुक्ने टन्टलापुर घामदेखि कदापि बिचलित नभई लाखौँ जनता सडकमा ओर्लेको मैले देखेँ । घरका छतहरुबाट गणतन्त्र स्वागत जुलुसमाथी ठाउँ ठाउँमा जग/पाइपमार्फत पानि छरेर समर्थन र ऐक्यवद्धता जनाएको दृष्यले जुलुसका अन्य सहभागिलाई झैँ मलाई पनि कम्ति पुलकित गराएन । बच्चा बुईमा बोकेर स्वागत जुलुसमा सहभागि हुनेको संख्या पनि कम थिएन । मैले तत्काल एउटा बिदेशी साथीले भनेको सम्झेँ "नेपालीमा राजनैतिक चेतना निकै कम छ जस्तो मलाई लाग्यो ।" सोचेँ "उसलाई फोटो र भिडियो खिचेर पठाइदिउँ नेपालीको राजनैतिक चेतना बलियो भएको प्रमाण दिन ।" पन्चै बाजामा मलाई पनि छमछम नाचुँ जस्तो लाग्यो । सबै दल मिलेर जुलुस निकालेको हेर्ने र त्यसमा सहभागि हुने रहर भए पनि त्यो जुलुसमा अरु दलहरुको सहभागिता थिएन । रत्नपार्क पुग्नै लाग्दा एकाएक मैले पनि आफ्नो बेसुरे तालमा गाएँ अरुलाई साथ दिन "गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ...।" एकछिनपछि मलाई आफुले दुवै हात मुठ्ठी बटारेर माथि उचालेको आभास भयो । फोटो खिच्न व्यस्त म कतिखेर क्यामेरा थन्काई मुठ्ठी बटार्न पुगेछु थाहै भएन । मैले मुठ्ठी फुकाउने प्रयत्न गरिन । माइतिघर मण्डला पार गरिसकेपछि एउटा अनौठो दृष्य देखेँ, देखेँ एउटा बिदेशी माओवादीको झन्डा बोकी जुलुसको एउटा भागको नेतृत्व गरिरहेको छ । उ नारा लगाउँदै थियो "पारस गुण्डा" अरुहरु सघाउँदै थिए "रुखमा झुन्डा" । फेरी एकछिनपछि उ चिच्याउँथ्यो "ज्ञाने चोरू" अरुहरु पछ्याउँदै भन्थे "देश छोड ।" उसको जोस र उत्साह देख्दा मलाई पनि उफ्रुँ उफ्रुँ लाग्यो । अन्तराष्ट्रिय सम्मेलन केन्द्र पुग्दा सुर्य र तारा अंकित झण्डाहरु पनि देख्दा अझ खुसी लाग्यो । जे होस ढिलै भएपनि माओवादीको संविधानसभा र गणतन्त्रको एजेण्डालाई अरु दलहरुले स्विकारेको देख्दा आनन्दित भएँ । सायद अब देशमा शान्ति र समुन्नती देख्न पाइएला कि ? अब साँढे दुई करोड नेपाली फुटेर होइन जुटेर आधुनिक समृद्ध र न्यायपुर्ण नेपालको निर्माणमा लाग्नुपर्छ ।

No comments: