Saturday, May 31, 2008

माओवादी झन्डामा अमेरिकि


माईतिघर मन्डलाबाट बानेश्वरतिर जुलुस जाँदै गर्दा माओवादी झन्डामा एक अमेरिकिलाई देखेपछि मैले यो फोटो खिच्न भ्याएँ।

Thursday, May 29, 2008

गणतन्त्रभित्र म मेरो र देशको भविष्य खोज्नेछु ।



गणतन्त्र उर्लेर आयो……





"गणतन्त्र उर्लेर आयो, आउने थिएन जनताले बोलायो...." हँसिया हथौडाको चिन्ह कोरिएको लाल झन्डा बोकेर उर्लेको जनसागर नयाँ बजार पुग्दा यहि भाकामा गीत गाएको मैले सुनेँ । अलि पर पुग्दा केहि युवाहरुले राजतन्त्र बिरुद्धको आक्रोश पोख्दै गाए "के हुन्छ कुन्नी, किन होला हत्यारो ज्ञानेलाई छप्काउँदै हुन्नी...." केहि महिला र पुरुषहरु भने गाउँदै थिए "सीमली छायाँमा बसी भरिया लामो सास फेरेको उमेर भइसक्यो असी झन ठुला दुःखले घेरेको..." आँतै सुक्ने टन्टलापुर घामदेखि कदापि बिचलित नभई लाखौँ जनता सडकमा ओर्लेको मैले देखेँ । घरका छतहरुबाट गणतन्त्र स्वागत जुलुसमाथी ठाउँ ठाउँमा जग/पाइपमार्फत पानि छरेर समर्थन र ऐक्यवद्धता जनाएको दृष्यले जुलुसका अन्य सहभागिलाई झैँ मलाई पनि कम्ति पुलकित गराएन । बच्चा बुईमा बोकेर स्वागत जुलुसमा सहभागि हुनेको संख्या पनि कम थिएन । मैले तत्काल एउटा बिदेशी साथीले भनेको सम्झेँ "नेपालीमा राजनैतिक चेतना निकै कम छ जस्तो मलाई लाग्यो ।" सोचेँ "उसलाई फोटो र भिडियो खिचेर पठाइदिउँ नेपालीको राजनैतिक चेतना बलियो भएको प्रमाण दिन ।" पन्चै बाजामा मलाई पनि छमछम नाचुँ जस्तो लाग्यो । सबै दल मिलेर जुलुस निकालेको हेर्ने र त्यसमा सहभागि हुने रहर भए पनि त्यो जुलुसमा अरु दलहरुको सहभागिता थिएन । रत्नपार्क पुग्नै लाग्दा एकाएक मैले पनि आफ्नो बेसुरे तालमा गाएँ अरुलाई साथ दिन "गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ...।" एकछिनपछि मलाई आफुले दुवै हात मुठ्ठी बटारेर माथि उचालेको आभास भयो । फोटो खिच्न व्यस्त म कतिखेर क्यामेरा थन्काई मुठ्ठी बटार्न पुगेछु थाहै भएन । मैले मुठ्ठी फुकाउने प्रयत्न गरिन । माइतिघर मण्डला पार गरिसकेपछि एउटा अनौठो दृष्य देखेँ, देखेँ एउटा बिदेशी माओवादीको झन्डा बोकी जुलुसको एउटा भागको नेतृत्व गरिरहेको छ । उ नारा लगाउँदै थियो "पारस गुण्डा" अरुहरु सघाउँदै थिए "रुखमा झुन्डा" । फेरी एकछिनपछि उ चिच्याउँथ्यो "ज्ञाने चोरू" अरुहरु पछ्याउँदै भन्थे "देश छोड ।" उसको जोस र उत्साह देख्दा मलाई पनि उफ्रुँ उफ्रुँ लाग्यो । अन्तराष्ट्रिय सम्मेलन केन्द्र पुग्दा सुर्य र तारा अंकित झण्डाहरु पनि देख्दा अझ खुसी लाग्यो । जे होस ढिलै भएपनि माओवादीको संविधानसभा र गणतन्त्रको एजेण्डालाई अरु दलहरुले स्विकारेको देख्दा आनन्दित भएँ । सायद अब देशमा शान्ति र समुन्नती देख्न पाइएला कि ? अब साँढे दुई करोड नेपाली फुटेर होइन जुटेर आधुनिक समृद्ध र न्यायपुर्ण नेपालको निर्माणमा लाग्नुपर्छ ।

Wednesday, May 28, 2008

अव संघिय गणतन्त्र नेपाल

२४० बर्षको निरंकुस राजतन्त्र समाप्त भएको छ ।

Monday, May 26, 2008

Sunday, May 18, 2008

प्रसङ्ग उच्च कोशी बाँधको


नेपालमा निकै नै आलोचित तर भारतका लागि निकै नै बहुप्रतिक्षित एवं महत्वाकांक्षी उच्च कोशी बाँध अहिले व्यापक बहसको बिषय भएको छ । बिहार डुब्न नदिनको लागि पूर्वी नेपाल जलमग्न गराउने भारतको योजना सफल भयो भने नेपालको लागि टनकपूर भन्दा हजारौ गुणा आत्मघाती हुन जानेछ । आशा गरौँ नयाँ नेतृत्वले राष्ट्रिय स्वाभिमान र जनताको भलाई सुनिश्चित गरी हामीलाई पहिलाकाले झै निराश बनाउने छैन ।

Friday, May 16, 2008

धन्यवाद दिदी !



नजिकै पसल छ । पसलमा काम नभएको बेलामा यी दिदी यस्तै ऊनी धागो बनाउने काम गर्छिन् । गाउँ घरमा सिकेको सिप अहिले उनलाई काम लागेको छ । "कहिले काहिँ त महिनाको दुई तीन हजार सम्म कमाई हुन्छ" आफ्नो कामप्रति गर्व गर्दै उनले सुनाइन् । "पसलमा सँधै काम हुदैन त्यत्तिकै के बस्नु भनेर यो काम थालेकी" पसलमा भर्खरै आएका दुई जना ग्राहकलाई एकछिन पर्खने इसारा गर्दै उनले भनिन् । हातमा सीप भएका कैयौँ नेपाली महिलाहरु फुरसदमा या त प्रायः टेलिभिजनको अगाडि झुम्मिरहेका हुन्छन् या त अनाबस्यक गफ गाफमा दिन बिताइदिन्छन् । समयलाई कुनै उत्पादक काममा मात्र खर्च गर्नुपर्छ भन्ने सोच हामी नेपालीलाई पनि आईदिए कति जाति हुन्थ्यो हगि ? अनपढ तर पनि शिक्षित र उद्यमशिल यी दिदीलाई मेरो लाख लाख धन्यवाद छ ।

Thursday, May 15, 2008

बहस तिव्वतको

बिगत् केहि हप्तादेखि मेरा दिनहरु निरस र निस्सार लागिरहेछन् । पूरा देशनै आशावादी भैरहेको स्थितिमा ममा भने त्यसको बिऊ पनि छ जस्तो लागको छैन । यसैबिच एक साँझ इमेलमा बेनलॆ (चिनजानको बेल्जियमको युवा जो नेपालमा गा्रमिण पर्या पर्यटनको बिकास गर्न सकिन्छ कि भनेर लागिपरिरहेको छ) लेखेको रहेछ "म भोली तिम्रो गाउँ जाँदैछु मैले टिकट किनिसकेँ । तिमी कहाँ छौ? काठमाडौँमा नै थिए, घर जानु पर्ने भयो। भोलीपल्ट गाउँ पुगिसकेपछि सुरु भयो उसका निरास कहानीहरु । बिगत दुई तीन महिनामा? उसको काम नै पश्चिमा पत्रकारहरुलाई नेपालमा भैरहेको "स्वतन्त्र तिब्बत अभियान" का बारेमा रिपोर्टिङ गर्न सघाउने भएको रहेछ । ऊ गुनासो गर्दै थियो "पश्चिममा हरेक अखबार र अन्य मेडियामा चीन बिरोधी/तिब्बत समर्थकहरुका गतिविधिका बारेमा पहिलो तथा प्रमुख खबर बन्छ तर मित्र तिमीहरु भने यसलाई वास्तै गरिरहेका छैनौ । यस बारेमा नेपाली मेडियामा भित्री पेजमा वा खबरको अन्त्यमा केहि शब्दहरु मात्र म देखिरहेको छु । हरेक दिन नेपालमा तिब्बती शरणार्थीहरुको शान्तिपूर्ण बिरोध कार्यक्रममाथी प्रशासनले निर्मम तरिकाले दमन गरिरहेको छ । तर पनि तिम्रो मेडिया भने यसबारे चुपचाप छ । हेर जो कोहिलाई पनि आफुलाई चित्त नबुझेको बिषयमा बिरोध/असन्तुष्टी प्रकट गर्ने अधिकार छ चाहे त्यो महाशक्तिसाली चीनकै बिरुद्ध किन नहोस् । तिब्बतीहरुलाई पनि स्वतन्त्र र आत्मसम्मानपुर्वक बाँच्ने अधिकार छ र त्यसका लागि नै उनीहरु संघर्ष गरिरहेका छन् । मैले सोधेँ "पश्चिमाहरु के चाहन्छन् ?" उसले उत्तर दियो "स्वतन्त्र तिब्बत जुन तिब्बतमाथी चिनिया नियन्त्रण हुनुपूर्व थियो ।" म शसङ्कित भएँ "स्वतन्त्र तिब्बतको अर्थ के हो? नेपाल र चीन बिच तिब्बत नामको अर्को मुलुक ? वा तिब्बतीहरुको सर्वमान्य मानव अधिकारको शुनिश्चितता जस्तो की देशका नागरिकले पाउनुपर्ने अधिकारू ? उसले यस पटक होसियारी पूर्वक मेरो जिज्ञासा मेटाउने प्रयास गर्यो "तिब्बतीहरु पहिले त उनीहरुको परम्परागत सांस्कृतिक अधिकार चाहन्छन् जसमाथी अस्वभाविक तरिकाले चीन सरकारले नियन्त्रण गरिराखेको छ । त्यसपछि स्वशासित क्षेत्र तिब्बतलाई केन्द्र सरकारले बढि अधिकार दिनुपर्छ आत्म निर्णयको अधिकार सहित । र यदि कालान्तरमा तिब्बतीहरुले छुट्टै मुलुक बन्ने चाहाना गर्छन भने उनीहरुले त्यो अधिकार समेत पाउनेछन् ।" म फेरी अलि बढि नैँ पडकेँ "चीन टुक्राएर तिमी के पाउँछौ ? हामी के पाउँछौँ ? मलाई जहाँसम्म लाग्छ नेपाल अमेरिकाको लागि चीन बिरुद्धको गोटी बन्नु हुँदैन । हामी हाम्रो उन्नतीशील र सोझो छिमेकीसँग सुमधुर सम्बन्ध चाहान्छौ । फेरी आफ्नै दुःख तीन तला भनेझैँ भएको बेलामा अरुका बारेमा टाउको दुखाउने बेला हाम्रो छैन । अर्कालाई डेरा आँखाले हेर्यो भने पनि मानव अधिकारको हनन भयो भन्ने तिमीहरु केवल एक लादेन र सद्दाम हुसेनका लागि अमेरिकाले दशौँ लाख निर्दोष जनताको निर्मम हत्या गर्दा कहाँ थियौ ? मलाई लाग्छ अहिलेको फ्री तिब्बत मुभमेन्ट पनि अमेरिकाकै एक चाल हो र तिमीहरु चलाख तर मुर्ख गोटीहरु । साथी यदि देश टुक्रनु तिमीले भनेझैँ सामान्य हो भने तिमीहरुले पनि तुरुन्त फ्लेमिसहरुको बाहुल्यता भएको उत्तरी बेल्जियमलाई उनीहरुले चाहे झैँ अलग हुन दिनुपर्छ । एउटा स्वतन्त्र र छुट्टै युरोपेली मुलुक हुन दिनुपर्छ बेल्जियमबाट अलग्गिएको ।" उ मेरो लामो र उसको बिचार प्रति तिव्र असहमति जनाउने खालको भाषणले अवाक् भएको जस्तो लाग्यो । केहि दिन अघि उसले भनेको थियो कि उसको देशको उत्तरी भागमा छुट्टै मुलुकको माग भइरहेको छ । उत्तरी भाग धनी छ र उनीहरु सम्पन्न भाग अलग्याउन चाहान्छन् । त्यसदिन बेलुकी खाना खाने बेलामा फेरी उसले भन्यो "धन (उसको गाइड) ले पनि तिम्रो जस्तै कुरा गर्यो ।" मैले थाहा पाएँ उ अब सार्है नै बिरक्तिइसकेको छ । सुत्ने बेलामा मैले उसलाई फुल्याउने प्रयास गर्दै भनेँ "दिउँसोको कुराले तिमीलाई नराम्रो त लागेको छैन नी ?" ऊ केही जवाफ नै नदिई अर्को पट्टि फर्कियो अनि म पनि बिनासित्तिमा मोरो सँग पड्केछु भनेर पछुताउँदै निदाउने प्रयास गर्न थालेँ उ भने घरी यता त घरी उता गर्दै रात कटाउँदै थियो ।