Sunday, July 13, 2008

खोस्टाभित्रको बिरालो म्याऊँ गर्छ !

निरन्तर अवरोधपछिको व्यबस्थापिकाको हकमा बसेको संविधानसभाको बैठकमा तमलोपाका नेता महन्थ ठाकुरले औँलो ठड्याएर हिन्दीमा भाषण गरिरहँदा एउटा भारतिय टेलिभिजनले नेपालको नक्सा भारतमा गाभेर समाचार सम्प्रेषण गरेको दृष्य नेपाली च्यानल मार्फत देखिइरहेको थियो । त्यतिखेर मैले नेपाली राष्ट्रियता र अखण्डता संकटमा छ भन्ने प्रष्ट बुझेँ । सायद म जस्ता लाखौँ यो देशलाई माया गर्नेहरु पनि त्यो दृष्य र खबरले झस्के होलान् र उनीहरुको बुझाई पनि मेरो जस्तै थियो होला । सरकार यसप्रति मौन छ अनि आफुलाई सर्वहारा नेपालीको मुक्तिदाता भन्न रुचाउने माओवादीको समेत आपत्ति रहेको देखिएन जुन जोगी आए पनि कानै चिरेका भनेझैँ । तराईको स्वायत्तता विवादले तराईका क्षेत्रिय दल र ठुला राष्ट्रिय दलहरु बिचको दुरी बढ्दैछ । बहुमत जनता एक तराई एक प्रदेश हुनुहुदैन भन्छन् तर तराईका दलहरु मान्न तयार छैनन् । ठाकुरजीले हिन्दीमा भाषण गरिरहँदा मैले उहाँभित्र तराई मुक्तिका नेता पाउन सकिन । हिन्दी बाहेक दशगजावारी बोलिने कुनै पनि भाषा जस्तैः मैथली अवधी आदि प्रयोग गरेको भए सायद त्यो मेरो लागि प्रसंसनिय हुनेथियो । फेरी हिन्दी बोल्दैमा तराईको मुक्ति पनि हुने होईन । ठाकुरजी नेपाली राजनीतिमा लगभग एकछत्र शासन गरेको पार्टी नेपाली काँग्रेसका बरिष्ठ एवं प्रभावशाली पुर्व नेता हुनुहुन्छ । मलाई चित्त नबुझेको कुरा के हो भने जव उहाँ काँग्रेसमा हुनुहुन्थ्यो उहाँले तराईमा कुनै समस्या देख्नुभएन त्यतिखेर सबै ठिकै थियो । अनि एकाएक केही दिनभित्रै नयाँ क्षेत्रिय पार्टी नखोली नहुने कस्तो खालको प्रलय एकाएक तराईमा उहाँले देख्नुभयो ? सदियौँदेखि पीडित तराईबासीहरु भन्दै लोकपि्रय हुनुभयो तर उनीहरुमाथि बर्षौँदेखि शासन गर्ने उहाँहरु नै हुनुहुन्थ्यो फेरी अहिले उहाँहरु नै मुक्तिदाता बन्ने ढोँग रच्ने ? एउटा डाँडोमाथिकाहरु बसाई सरेर तराई गएकाहरुलाई चाहि हामीहरुलाई मिच्न आएका, तिमीहरु पराई भनी हेलाको दृष्टिले हेर्ने अनि सयौँ कोश तलतिर अर्को देशबाट आएका चाहि भाई भाई ? यो कस्तो न्याय हो ? तराईका मित्रहरु! भारत दशगजा भत्काएर हामीलाई सिक्कीम बनाउन खाज्दैछ जुन नेहरुको पालादेखिकै भारतिय सुरक्षा सुत्र हो जस अनुसार सिक्कीम भुटान र नेपाललाई भारतमा गाभ्नुपर्दछ हिमालयलाई प्राकृतिक सिमा बनाएर । उनीहरुले अब नेपाल मात्र बाँकी राखेका छन् । अहिलेको तराईवादी दलहरुको मागले त्यसैलाई कार्यान्वयन गर्न सहयोग पुर्याउनेछ । तराईबासी नेपालीलाई राष्ट्रिय बिकासको मुल प्रबाहमा ल्याउन र समग्र तराईको मुक्तिको लागि एक तराई एक प्रदेश उत्तम बिकल्प होइन । होसियार! उनीहरु भित्र खोस्टोभित्र बसेको बिरालो हुनसक्छ बाहिरबाट हेर्दा नदेखिए पनि त्यसले म्याऊँ गरिछाड्छ । यी त्यहि बिरालाहरु हुनसक्छन् जसले रुप बदलेर मुसा खान्छ आखिर बिरालो कालो होस् या सेतो खोस्टोभित्रबाट निस्केर ।

No comments: