Friday, July 18, 2008

खाडीमा नेपाली लुसाङहरुका क्रन्दन, जिम्मेवार को?

ओमानको सललहमा सात बर्षदेखि घरेलु बन्दीको अबस्थामा रहेकी रसुवाकी लुसाङ तामाङको बारेमा थाहा पाउँदा ज्यादै दुःख लाग्यो । वास्तवमै अदक्ष कामदारलाई बैदेशिक रोजगारीका लागि पठाउँदा यस्ता गडवडी हुने नै गर्छन् । करिब एक बर्षअघि धुन्चेमा रसुवाका महिलाहरुको स्थिति चेलीबेटी बेचबिखन लगायतका महिलाका सवालहरुको पहिचान र त्यसका समाधानका लागि सरकारी तथा गैर्ह सरकारी निकायहरुको समिक्षात्मक गोष्ठीमा मैले यस्तै खालको समस्या पनि देखाएको थिएँ जसलाई महिला अधिकारकर्मीहरुले अस्वीकार गरे । मेरो प्रस्ताव थियो कि सरकारी तथा गैर्ह सरकारी पक्ष मिलेर रोजगारमा जान चाहानेहरुलाई भाषा र शिप तालिम प्रदान गर्ने ता कि सम्बन्धित ठाउँमा गएर धेरै दुःख नपाउन । सहायक प्र.जि.अ. ले पनि सबैको त्यस्तै शोच हो र यो उपाय प्रभावकारी भएमा तालिम प्राप्त महिलालाई मात्र बैदेशिक रोजगारीमा जान राहदानी प्रदान गर्न सकिने कुरा गर्नुभएको थियो । तर कुरा कुरामै सीमित भयो । मेडियामा खाडीमा रहेका घरेलु महिला कामदारमाथि हुने शोषणका घटनाहरुका बारेमा मैले अनुमान गरेभन्दा ज्यादै कम सुनेको छु । तर लुकेर रहेका वा मेडिया सामु नआएका यस्ता शोषणका कथा व्यथाहरु धेरै नेपाली महिलाका हुन सक्दछन् । अत्यन्त नीरिह र लाचार नेपाली कुटनीतिक नियोगहरुबाट खासै सहयोगको आशा नराखे पनि हुन्छ । तर रोजगारमा जानुभन्दा अघिनै जाने ठाउँ काम भाषा त्यहाँको कानुन आदिका बारेमा केहि ज्ञान दिन सकेमा घरेलु महिला कामदारहरुमाथि हुने शोषणको जोखिम अवश्य न्युनीकरण गर्न सकिन्छ । धेरै चेलीबेटी बेचबिखन हुने गरेको रसुवामा पछिल्लो समयमा आएर बैदेशिक रोजगारप्रतिको महिलाहरुको क्रेज एकाएक आकासिएको छ । नेपाली समेत राम्रोसँग बोल्न नआउने शैक्षिक योग्यता अत्यन्त न्युन भएका वा नभएका खेती किसानी बाहेक कुनै शिप नजान्ने किशोरीहरु बैदेसिक रोजगारमा जाने गरेका छन् । खाडी मुलुकहरुमा बढ्दो घरेलु कामदारको माग पुर्ती गर्न जाने यस्ता अदक्ष महिला कामदारहरु यौन शोषण तथा घरेलु िहंसाका शिकार हुने खतरा ज्यादा छ फेरी खाडीमा मूस्लीमहरुको महिला अधिकारप्रतिको धारणा र प्रतिवद्धता नकारात्मक रहेको पाईन्छ । म्यानपावर कम्पनीहरुले पनि आफुले पठाएका कामदारहरुको बारेमा समय समयमा जानकारी लिनु जरुरी छ साथै गलत तथा गैर्ह कानुनी ढंगले कामदारहरु पठाउन बन्द गर्नुपर्दछ । त्यसैले राज्यले गैर्हसरकारी क्षेत्रसँगको साझेदारीमा महिलाहरुलाई बैदेशिक रोजगारमा जान निरुत्साहित पनि नगर्न र उनीहरुमाथि हुने सम्भावित दुव्र्यवहार र शोषणका खतरालाई न्युनीकरण गर्न निशुल्क वा अत्यन्त कम शुल्कमा तालिमका साथै अन्य आवस्यक क्षमता विकासका कार्यक्रमहरु ल्याउनु आवस्यक छ । ता की आइन्दा फेरी अर्की लुसाङहरुले त्यस्तो सास्ती खेप्नु नपरोस् ।

No comments: