Wednesday, August 13, 2008

गुगलमा मेरो गाउँ




गुगल अर्थका माध्यमबाट आज मैले मेरो गाउँ हेरेँ । यो अमेरीकी अन्तरिक्ष नियोग नासाको भूउपग्रहबाट लिइएको पृथ्वीको तस्विरभित्रबाट लिइएको स्न्याप हो । दुई भिमकाय पहिरोहरुको बिचमा मेरो गाउँ रहेको छ । यो त्यहि ठाउँ हो जहाँ मैले जीवनका प्रारम्भिक १७ बर्षहरु विताएको थिएँ ।
तस्विरमा कालिकास्थान र जिवजिवे

Monday, August 4, 2008

दार्जिलिङ्गको रेलैमा




बिभिन्न गीत कथा आदिमा हामीले बारम्बार सुन्दै आएको दार्जिलिङ्गको रेल यही हो । सुन्दा त कत्ति नै होला जस्तो लाग्थ्यो तर देख्दा भने दिक्क लागेर आयो । जे होस् हाम्रा लोकपि्रय ब्याण्ड ग्लुमी गाईज का दाजुहरुसँग त्यस्तो रेलमा चढेर को चाहि जाने होला त ?

Wednesday, July 30, 2008

"अग्नि पर्व" एकपटक पढौँ ल!

भारतिय साहित्यकार हिमांसु जोशीको बिख्यात उपन्यास "कगार की आग" को भागीरथी श्रेष्ठद्धारा नेपालीमा अनुवादित उपन्यास "अग्नि पर्व" पढ्दै गर्दा एक ठाउँमा पुगेपछि किताव सिताब फालेर रुन मन लाग्यो । सँधै जसो देखे/भोगेको जस्तो लाग्ने यो उपन्यासका घटना र पात्रहरु हाम्रै गाउँ/ठाउँका हुन् कि जस्तो लाग्यो । उपन्यासको कुनै कुनामा लेखिएको थियो "अनि भाउजु, दाजुलाई कुनै राम्रो डाक्टरकहाँ लगेर नजँचाएको त?" पल्टनबाट फर्केको देबरले भाउजु गोमतीलाई अचानक दाजु मानसिक रोगी भई बेसुरे भएको देखेपछि खिन्न हुँदै सोध्छ । प्रत्युत्तरमा गोमती उत्तर दिन्छे "किन नजँचाउनु नी! अस्ती नै पशु डाक्टरकहाँ लगेर देखाएको केही बिसेक भएन ।" छक्क परेर सम्झाउँदै देवरचाहि भन्छ "लौ भाउजु, पशु डाक्टरले त जनावर बिरामी भएको पो जाँच्छ त मान्छे कहाँ जाँच्छ ?" खुइय गरेर भावुक हँदै गोमती उत्तर दिन्छे "हामी मान्छे नै कहाँ हौ र देवर बाबु! हामी त जनावर हौ ।" एउटी दलीत महिला समाज र परिवारसँग जुध्दै आफ्नो विवेकहिन, बेसुरे र निरिह पति र निर्दोष छोराको रेखदेख गर्छे । आफ्नै भनेकाहरुबाट पिल्सएर, लुटिएर दुनिया चहार्छे पति र छोराको मुक्तिका लागि । जता पनि ठककर सिवाय केहि पाउँदिन। अन्तमा जव उसको निरिह पति जो जिउँदो लास भएर बाँचिरहेको थियो, मारिएको पाउँछे अनि सायद बिद्रोहको अठोटका साथ त्यो गाउँ छोड्छे, त्यो ठाउँ छोड्छे मर्न आँटेको छोरो लिएर । कसैलाई थाहा छैन गोमती कहाँ गई ? कुन्नु अहिले कहाँ छ ? हिजो राती गाउँलेहरुले देखेका थिए रे एउटी जगल्टा फिजाएको आईमाईको आकृति एउटा सानो बच्चाजस्तो लाग्ने आकृति एक हातमा र अर्को हातमा राको लिएर जंगलबाट गाउँतर्फ आउँदै थियो सायद त्यो नरकमय गाउँ जलाउन । गाउँलेहरुले गोमती र कुन्नुको भुत आयो भनेर ढोका थुनथान गरेर बसेछन् । तर मलाई नेपालमा पनि पाइला पाइलामा गोमती र कुन्नुहरु छन् झै लाग्छ कता कता । यो उपन्यास भारतको उत्तर प्रदेशमा घटेको यथार्थ कथा थियो तर अब बिकासोन्मुख देशका मानिसहरुको साझा कथा भएको छ । एकपटक पढौँ ल!

Monday, July 28, 2008

प्रेश स्वतन्त्रता ? कि सुचनाको हक ??

नेपालमा प्रेश स्वतन्त्रताको शुनिश्चितता भएन, राज्य तथा गैर्ह राज्य पक्षले प्रेश जगतमाथि अनुचित नियन्त्रण र दुव्र्यबहार जारी राखेका छन् आदि आदि भन्दै बारम्बार आपत्ति तथा खेद प्रकट गरेको कुरा हामी सुनिरहन्छौँ । मलाई स्पष्ट नभएको कुरा के हो भने प्रेश स्वतन्त्रता के के लाई भन्ने प्रायसः पत्रकारहरु देखेको/भोगेको कुरा लेख्न नपाएको गुनासो गर्छन् । कुरा सही हो किनकि यदि राम्रा/नराम्रा पक्षहरुलाई बाहिर ल्याइएन भने सुचना तथा साचारको उन्नती हुन सक्तैन । त्यसैले सत्य/तथ्य समाचार लेख्न पाउनुपर्छ । के दुव्र्यबहार सहेका सबै पत्रकारहरु यहि सत्य/तथ्य समाचार लेखेका कारण नै त्यसरी पीडित हुनु परेको हो त ? बाहिर कुरा जे आए पनि यथार्थ के हो भने निक्कै कम पत्रकारहरु मात्र राजनीतिबाट तटस्थ रहन सक्छन् । अझ प्राय पत्रिकाहरु प्रत्यक्ष/परोक्ष रुपमा कुनै दल बिशेषबाट निर्देशित हुन्छन् वा उनीहरुको प्रत्यक्ष झुकाव दल बिशेषतिर रहन्छ । अनि उनीहरुले सम्प्रेषण गर्ने खबर पनि कतै न कतैतिर झुकाव भएको हुन्छ । अब यहाँनिर कसलाई कारबाहि गर्ने कसलाई नगर्ने कारबाही नगर्ने हो भने तटस्थ र सत्य/तथ्य खबर सम्प्रेषण हुँदैन र कारबाही गर्ने हो भने कसले गर्ने कुन आधारमा गर्ने यहाँ प्रेश स्वतन्त्रताको वकालत गर्न ठुल्ठुला आवाज उठाइन्छ तर जनताको सुचनाको हकका बारेमा भने बिरलै सुनिने गरिन्छ । प्रेशमा काम गर्नेहरु नेपालमा कति होलान् ? ५० हजार ? अनि सुचनाको हक पाउनेहरु नि कति छन् साँढे दुई करोड । अब सोचौँ ५० हजारको हकका लागि साँढे दुई करोडको सुचनाको हक खोस्न मिल्छ ? मैले प्रेशमाथि नियन्त्रण हुनुपर्छ भनेको होईन तर प्रेशले सुचनाको हक मिच्न नसक्ने वातावरण बनाइनुपर्छ । नपत्याए कान्तिपुर र जनदिशा पढ्नेहोस् माओवादी र गैर्ह माओवादीको आन्द्राभुँडी थाहा हुन्छ । नत्र एउटै खबर भिन्न मेडियाबाट किन भिन्न रुपमा आउँछ ? किनकि खबर/सुचना सम्प्रेषण गर्दा व्यालेन्समा रहेर काम नगर्ने तथा घटनाको कुनै भागलाई लुकाउने/गलत व्याख्या गर्ने आदिका कारण हामीले सही सुचना पाउँदैनौँ । मेडियाको काम देखेको कुरा लेख्ने हो । मानौँ दुई पक्षबिच झडप भयो भने खबर सम्प्रेषण गर्दा कसले कसलाई पिट्यो ? कसले कस्तो प्रतिकि्रया जनायो ? आक्रमण/प्रत्याक्रमण के कसरी भए ? घटना अघि र पछिको वातावरण कस्तो थियो ? आदि सही रुपमा सम्प्रेषण गर्नुपर्दछ । कसको गल्ती ? को सही? को गलत ? कसलाई न्याय भयो ? कसलाई अन्याय ?आदि खुट्याउने काम पत्रकारको होइन । यो अधिकार त सुचना पाउने जनताको हो अनि न्यायलयको । तर हामीकहाँ फलानोको अर्थतन्त्र यस्तो भनेर पत्रकारितामा स्नातक उत्तीर्णहरुले पत्रिकाको फ्रन्ट पेजमा बिश्लेषणत्मक लेख लेख्छन अनि हामी त्यसैलाई बिश्वास गर्छौ । बिश्वम्भर प्याकुरेल जस्तालाई हम्मे हम्मे पर्ने आर्थिक बिश्लेषण हाम्रा दुई हप्ता पत्रकारिताको तालिम लिएकाहरुले गर्न थालेपछि जनताले सही सुचना पाउलान् त ? यथार्थ के हो भने पत्रकारिताको नाममा यहाँ राजनैतिक गुलामीको काम भएको छ र पत्रकारमाथिको दुव्र्यबहार पनि राजनैतिक द्धन्दको एक रुप हो । यो एकदमै नराम्रो प्रवृत्ति हो तर के गर्ने यो प्रवृति झन बढ्दो छ । स्वभाविक रुपमा मेडिया राज्य पक्षतिर झुकाव भएको हुन्छ तर जव राज्यमा आमुल रुपमा राजनैतिक परिवर्तन हुन्छ पे्रशमा द्धन्द पनि स्वभाविक रुपमा बढ्छ र नेपालमा पनि अहिले त्यहि भएको छ । प्रेश जगत स्वतन्त्र हुनुपर्छ तर जनताको सुचनाको हकको अवमुल्यन भने हुनु हुदैन । त्यसैले कहिले काहि त सुचनाको हकका बारेमा पनि बोल्ने/लेख्ने कि ?

Friday, July 18, 2008

खाडीमा नेपाली लुसाङहरुका क्रन्दन, जिम्मेवार को?

ओमानको सललहमा सात बर्षदेखि घरेलु बन्दीको अबस्थामा रहेकी रसुवाकी लुसाङ तामाङको बारेमा थाहा पाउँदा ज्यादै दुःख लाग्यो । वास्तवमै अदक्ष कामदारलाई बैदेशिक रोजगारीका लागि पठाउँदा यस्ता गडवडी हुने नै गर्छन् । करिब एक बर्षअघि धुन्चेमा रसुवाका महिलाहरुको स्थिति चेलीबेटी बेचबिखन लगायतका महिलाका सवालहरुको पहिचान र त्यसका समाधानका लागि सरकारी तथा गैर्ह सरकारी निकायहरुको समिक्षात्मक गोष्ठीमा मैले यस्तै खालको समस्या पनि देखाएको थिएँ जसलाई महिला अधिकारकर्मीहरुले अस्वीकार गरे । मेरो प्रस्ताव थियो कि सरकारी तथा गैर्ह सरकारी पक्ष मिलेर रोजगारमा जान चाहानेहरुलाई भाषा र शिप तालिम प्रदान गर्ने ता कि सम्बन्धित ठाउँमा गएर धेरै दुःख नपाउन । सहायक प्र.जि.अ. ले पनि सबैको त्यस्तै शोच हो र यो उपाय प्रभावकारी भएमा तालिम प्राप्त महिलालाई मात्र बैदेशिक रोजगारीमा जान राहदानी प्रदान गर्न सकिने कुरा गर्नुभएको थियो । तर कुरा कुरामै सीमित भयो । मेडियामा खाडीमा रहेका घरेलु महिला कामदारमाथि हुने शोषणका घटनाहरुका बारेमा मैले अनुमान गरेभन्दा ज्यादै कम सुनेको छु । तर लुकेर रहेका वा मेडिया सामु नआएका यस्ता शोषणका कथा व्यथाहरु धेरै नेपाली महिलाका हुन सक्दछन् । अत्यन्त नीरिह र लाचार नेपाली कुटनीतिक नियोगहरुबाट खासै सहयोगको आशा नराखे पनि हुन्छ । तर रोजगारमा जानुभन्दा अघिनै जाने ठाउँ काम भाषा त्यहाँको कानुन आदिका बारेमा केहि ज्ञान दिन सकेमा घरेलु महिला कामदारहरुमाथि हुने शोषणको जोखिम अवश्य न्युनीकरण गर्न सकिन्छ । धेरै चेलीबेटी बेचबिखन हुने गरेको रसुवामा पछिल्लो समयमा आएर बैदेशिक रोजगारप्रतिको महिलाहरुको क्रेज एकाएक आकासिएको छ । नेपाली समेत राम्रोसँग बोल्न नआउने शैक्षिक योग्यता अत्यन्त न्युन भएका वा नभएका खेती किसानी बाहेक कुनै शिप नजान्ने किशोरीहरु बैदेसिक रोजगारमा जाने गरेका छन् । खाडी मुलुकहरुमा बढ्दो घरेलु कामदारको माग पुर्ती गर्न जाने यस्ता अदक्ष महिला कामदारहरु यौन शोषण तथा घरेलु िहंसाका शिकार हुने खतरा ज्यादा छ फेरी खाडीमा मूस्लीमहरुको महिला अधिकारप्रतिको धारणा र प्रतिवद्धता नकारात्मक रहेको पाईन्छ । म्यानपावर कम्पनीहरुले पनि आफुले पठाएका कामदारहरुको बारेमा समय समयमा जानकारी लिनु जरुरी छ साथै गलत तथा गैर्ह कानुनी ढंगले कामदारहरु पठाउन बन्द गर्नुपर्दछ । त्यसैले राज्यले गैर्हसरकारी क्षेत्रसँगको साझेदारीमा महिलाहरुलाई बैदेशिक रोजगारमा जान निरुत्साहित पनि नगर्न र उनीहरुमाथि हुने सम्भावित दुव्र्यवहार र शोषणका खतरालाई न्युनीकरण गर्न निशुल्क वा अत्यन्त कम शुल्कमा तालिमका साथै अन्य आवस्यक क्षमता विकासका कार्यक्रमहरु ल्याउनु आवस्यक छ । ता की आइन्दा फेरी अर्की लुसाङहरुले त्यस्तो सास्ती खेप्नु नपरोस् ।

Sunday, July 13, 2008

खोस्टाभित्रको बिरालो म्याऊँ गर्छ !

निरन्तर अवरोधपछिको व्यबस्थापिकाको हकमा बसेको संविधानसभाको बैठकमा तमलोपाका नेता महन्थ ठाकुरले औँलो ठड्याएर हिन्दीमा भाषण गरिरहँदा एउटा भारतिय टेलिभिजनले नेपालको नक्सा भारतमा गाभेर समाचार सम्प्रेषण गरेको दृष्य नेपाली च्यानल मार्फत देखिइरहेको थियो । त्यतिखेर मैले नेपाली राष्ट्रियता र अखण्डता संकटमा छ भन्ने प्रष्ट बुझेँ । सायद म जस्ता लाखौँ यो देशलाई माया गर्नेहरु पनि त्यो दृष्य र खबरले झस्के होलान् र उनीहरुको बुझाई पनि मेरो जस्तै थियो होला । सरकार यसप्रति मौन छ अनि आफुलाई सर्वहारा नेपालीको मुक्तिदाता भन्न रुचाउने माओवादीको समेत आपत्ति रहेको देखिएन जुन जोगी आए पनि कानै चिरेका भनेझैँ । तराईको स्वायत्तता विवादले तराईका क्षेत्रिय दल र ठुला राष्ट्रिय दलहरु बिचको दुरी बढ्दैछ । बहुमत जनता एक तराई एक प्रदेश हुनुहुदैन भन्छन् तर तराईका दलहरु मान्न तयार छैनन् । ठाकुरजीले हिन्दीमा भाषण गरिरहँदा मैले उहाँभित्र तराई मुक्तिका नेता पाउन सकिन । हिन्दी बाहेक दशगजावारी बोलिने कुनै पनि भाषा जस्तैः मैथली अवधी आदि प्रयोग गरेको भए सायद त्यो मेरो लागि प्रसंसनिय हुनेथियो । फेरी हिन्दी बोल्दैमा तराईको मुक्ति पनि हुने होईन । ठाकुरजी नेपाली राजनीतिमा लगभग एकछत्र शासन गरेको पार्टी नेपाली काँग्रेसका बरिष्ठ एवं प्रभावशाली पुर्व नेता हुनुहुन्छ । मलाई चित्त नबुझेको कुरा के हो भने जव उहाँ काँग्रेसमा हुनुहुन्थ्यो उहाँले तराईमा कुनै समस्या देख्नुभएन त्यतिखेर सबै ठिकै थियो । अनि एकाएक केही दिनभित्रै नयाँ क्षेत्रिय पार्टी नखोली नहुने कस्तो खालको प्रलय एकाएक तराईमा उहाँले देख्नुभयो ? सदियौँदेखि पीडित तराईबासीहरु भन्दै लोकपि्रय हुनुभयो तर उनीहरुमाथि बर्षौँदेखि शासन गर्ने उहाँहरु नै हुनुहुन्थ्यो फेरी अहिले उहाँहरु नै मुक्तिदाता बन्ने ढोँग रच्ने ? एउटा डाँडोमाथिकाहरु बसाई सरेर तराई गएकाहरुलाई चाहि हामीहरुलाई मिच्न आएका, तिमीहरु पराई भनी हेलाको दृष्टिले हेर्ने अनि सयौँ कोश तलतिर अर्को देशबाट आएका चाहि भाई भाई ? यो कस्तो न्याय हो ? तराईका मित्रहरु! भारत दशगजा भत्काएर हामीलाई सिक्कीम बनाउन खाज्दैछ जुन नेहरुको पालादेखिकै भारतिय सुरक्षा सुत्र हो जस अनुसार सिक्कीम भुटान र नेपाललाई भारतमा गाभ्नुपर्दछ हिमालयलाई प्राकृतिक सिमा बनाएर । उनीहरुले अब नेपाल मात्र बाँकी राखेका छन् । अहिलेको तराईवादी दलहरुको मागले त्यसैलाई कार्यान्वयन गर्न सहयोग पुर्याउनेछ । तराईबासी नेपालीलाई राष्ट्रिय बिकासको मुल प्रबाहमा ल्याउन र समग्र तराईको मुक्तिको लागि एक तराई एक प्रदेश उत्तम बिकल्प होइन । होसियार! उनीहरु भित्र खोस्टोभित्र बसेको बिरालो हुनसक्छ बाहिरबाट हेर्दा नदेखिए पनि त्यसले म्याऊँ गरिछाड्छ । यी त्यहि बिरालाहरु हुनसक्छन् जसले रुप बदलेर मुसा खान्छ आखिर बिरालो कालो होस् या सेतो खोस्टोभित्रबाट निस्केर ।

Tuesday, July 1, 2008

खस्कदो निर्यात


नेपालले निर्यात गर्ने बस्तुहरुमध्ये अब यहि मात्र बचेको छ । पश्मिनामा र तयारी पोशाकमा हामी धेरै पछि परिसक्यौ अब ह्यान्डीक्राफ्ट उद्योग मात्र बचेको छ ।

Monday, June 23, 2008

"राष्ट्रपति पद" का कारण पारपाचुके

राष्ट्रपतिका लागि भएको महाभारत सहन नसकी यो खोक्रो दिमागमा केही हावा कुरा खेल्न थाले र केही लेख्न मन लाग्यो । विश्वमै उत्कृष्ट राजनैतिक मोर्चा र सहमति निर्माण गर्दै अघि बढेका काँग्रेस र बाम घटकहरुबिचको सहकार्य र सहयात्रा अन्ततोगत्वा पारपाचुकेको स्थितिमा पुगेको छ । माले, मसाल र मण्डले एकै हुन भन्ने प्रधानमन्त्री कोईराला नेपाली राजनीतिमा माओवादीको शसस्त्र जनयुद्धको खतरनाक उडानलाई शान्तिपुर्ण अवतरण गराउन तिनै माओवादीको साथ दिन पुगे । एक हिसाबले हेर्ने हो भने ठुला सत्रुलाई पराजित गर्न साना सत्रुको साथ लिएर त्यसलाई निमिट्यान्न पार्ने र पछि तिनैको छातीमा टेकी टाउकोमा प्रहार गर्ने माओवादी नीति यहाँ आएर सफल भएको छ । काँग्रेस र एमालेका एकाध गम्भिर त्रुटीका कारण माओवादीले आफ्ना एजेण्डाहरुलाई अकाट्य र अपरिहार्य सावित गरिदियो । राजालाई हर हालतमा मास्ने नीति सफल पार्न काँग्रेससँग मिल्यो तर काँग्रेसको यो सहकार्य बाध्यता थियो अनि माओवादीको कुटनीति । अव राजतन्त्र मासिए पछि माओवादी र काँग्रेस पारपाचुकेको स्थितिमा पुगेका छन् । पहिला कोईराला नेतृत्व अत्यावस्यक लाग्यो माओवादीलाई तर अब अहिले माओवादी कोईरालालाईनै मिल्काउने तयारीमा जुटेको छ । कोईराला कसैसँग पनि घुँडा नटेक्ने वताउँछन् तर स्थिति घुँडा टेक्नै पर्ने देखिइएको छ । राजापछि माओवादीको निसाना काँग्रेस देखिइएको छ । बाम एकता र ध्रुविकरण भएमा काँग्रेसको गौरवमय राजनैतिक हैसियतमा गम्भिर धक्का लाग्नेछ । कोईरालाको एकछत्र शासन रहेका बेला फुलेर फलेर आएको माओवादी बिद्रोह एक हदसम्म सत्ताको गन्तव्यमा आईपुगेको छ । युद्धको मोर्चामा त माओवादीले जिते जिते अब चुनाबी मोर्चामा पनि कोईरालाको हार भएको छ । माओवादीलाई जनमत प्राप्त नहुँदै संविधानसभाको चुनाव गराएको भए सायद आज कोईराला विश्वकै उत्कृष्ट शासक बन्ने थिए होलान् अनि १५००० मानिसहरुको ज्यान र अर्बौको भौतिक क्षति राज्यले ब्यहोर्नु पर्ने थिएन । इतिहास मेट्न कसैले सक्दैन नत्र माओवादीलाई कोईराला छाडेर रामराजा भन्ने नामै नसुनेको व्यक्ति खोज्न जानुपर्ने थिएन । पार्टीभित्र तिव्र विवाद र असन्तुष्टि हुँदाहुँदै पनि गणतन्त्र स्विकार्नु कोईरालाको अर्को पराजय थियो किनकि त्यो माओवादीको एजेण्डा थियो । काँग्रेस यो ऐतिहासिक निर्णयपछि जनताको रहर बुझ्न तिर त लाग्यो तर माओवादीले एउटा अर्को मोर्चामा बैधानिकता हासिल गर्यो । प्रचण्डपथले माओवादीलाई सत्तमसम्म त पुर्यायो तर उसको आगामी दिनहरु कस्ता हुनेछन् त्यो त भविष्यको गर्भमा नै लुकेको छ । तर यदि यहि नै कोईरालाको राजनैतिक अगुवा नेतृत्वको अवसान भएमा त्यो दुखद हुनेछ । राजनैतिक स्थियित्व कायम गर्न कुनै एक पक्षले हार्नु अत्याबस्यक छ र सायद अव काँग्रेसको राजनैतिक एकाधिकारको पनि करिब करिब अन्त्य भएको छ । अरुको अन्डरमा काम गर्दिन भनेर कोईरालाले भनेका छन् अनि माओवादीले गर्दन फुलाएर मै नेतृत्व गर्छु भनेको छ । बिगतमा एमाले र माओवादीभन्दा मात्र १० सिट बढि भएकोले ठुलो पार्टीका हैसियतले काँग्रेसले अर्थ, रक्षा, गृह, प्रधानमन्त्री लगायतका पदहरु पाएको थियो र माओवादी त्यही परम्परालाई कायम राख्न चाहन्छ तर काँग्रेस नेपाली राजनीतिमा आफ्नो बोलवाला गुमेको हेर्न चाहदैन । कोईरालालाई राष्ट्रपति दिनु भनेको प्रचण्डसँग कुस्ती खेलाएर संविधान निर्माणमा अलमल गर्नु हो । कोईराला हारको बदला लिने सुरमा कस्सेर लागेका छन् । सेना कोईरालाकै अधिनमा बस्न चाहन्छ । सेनाले बिद्रोह गर्लाकि भनेर सायद नडराए होला किनकि कोईराला र राजाका बफादारहरु कमै होलान् त्यहाँभित्र । त्यसैले कोईराला अब नेपाली राजनीतिमा या त गान्धीझैँ अभिभावक भएर बस्ने या त राजनीतिबाट सन्यास लिएर नरहरी र गगन थापाजस्ता उदाउँदा सुर्यहरुलाई पार्टी चलाउने जिम्मेवारी दिने । यो समय युवाहरुको हो । समय हाम्रो हो ।

Sunday, June 22, 2008

बाल श्रम उन्मुलनः नारामै सीमित


बाल श्रम सम्बन्धि अनेकौ अन्तराष्ट्रिय सन्धि महासन्धिहरु पारित गरिसकेको भएपनि नेपालमा त्यो केबल नारामै सीमित भएको छ । तीनीहरुको ब्याबहारिक कार्यान्वयनमा भने राज्यले चासो नै देखाएको देखिदैन ।

Wednesday, June 18, 2008

बिगतलाई फर्केर हेर्दा


दुई बर्ष अघि गएको पहिरोले बिस्थापित भएको एउटा परिवार ओडारमा बास गर्दै । त्यो भयानक र दर्दनाक दृष्य सम्झदा अहिले पनि कहाली लागेर आउँछ । फेरी पनि बर्षातको समय आएको छ साथै उहि पहिरोको डर पनि । सँधै अभावै अभाव र खतराका बिच जिउनु यीनीहरुका लागि ठूलो चुनौती भएको छ ।

Friday, June 6, 2008

जनआन्दोलन जारी छ !!!


राज्य अब ऐतिहासिक मोडमा पुगेको छ । संक्रमणकालको अत्यन्त नाजुक अवस्था सफलतापुर्वक पार गरिसकेपछि जनताले बिभिन्न आशा र आशंकाका बिच नयाँ (समृद्ध आधुनिक र न्यायपुर्ण) नेपालको सपनालाई साकार पार्ने प्रण गरेका छन् । अब राज्य एकाध व्यक्ति र समुहको स्वार्थको निम्ति चलाइने परम्परा तोडिनु पर्छ । राष्ट्रिय स्वाभिमान, पहिचान र एकतामाथि कुनै सम्झौता नगर्न अबको नेतृत्वलाई बारम्बार खबरदारी गर्नुपर्छ । साँढे दुई करोड नेपालीमध्ये कोहि पनि दायित्व एक अर्कालाई पन्छाई उम्कन मिल्दैन । ६०१ जना मात्रले केहि गर्न सक्दैन तसर्थ हामी सबै मिलेर उनीहरुको साथ दिनुपर्छ । राष्ट्रिय सम्पत्ति र सम्पदाहरुको आत्मघाती सम्झौताहरुमा सम्भव भए पुनरावलोकन गरिनुपर्छ र भविष्यमा त्यस्ता गतिविधिहरु गर्न गराउन दिनुहुदैन । हामी जनता अब वाचडग को भुमिकामा रहनुपर्छ । तेलको राजनीतिले त देशलाई खायो खायो अब चाँडै खाद्यान्नको राजनीति हुदैछ । यदि हामीले आफुलाई पुग्ने गरी कृषि उत्पाकत्व बढाएनौ भने हामी निकट भविष्यमानै अर्का चरम संकटमा फस्नेछौ। तर अब संयम भएर लाग्नुपर्छ । हामीसँग पानि छ सायद भविष्यको कुनै पानामा हामी पनि पानिको राजनीति गर्न सफल हुनेछौँ । भनिन्छ भारतलाई गास बास कपासभन्दा पनि बढि पानिको जरुरत छ । उ सँग धेरै खेतियोग्य जमिन छ तर पानि छैन । त्यसैले भारतले गंगा, ब्रम्हपुत्र टिस्टा जस्ता बिशाल नदिहरु जोडि भिमकाय नहरहरु बनाउने योजना ल्याएको छ जसलाई River linking Project नाम दिइएको छ । यदि त्यो योजना सफल भएमा हल्दिया बन्दरगाहमा चल्ने पानिजहाजहरु रुसको भोल्गा वाल्टिक नहरहरुभन्दा बिशाल नहरहरुमार्फत देशका भित्रि भागसम्म पुग्नेछन् फलस्वरुप भारतलाई कृषिले अतुलनिय रुपमा अगाडि लैजानेछ । त्यसले बंगालको खाडिमा खस्ने नदिहरुलाई सम्भवतः हिन्द महासागरमा खसाल्नेछ । तर त्यसको असर बंगलादेशलाई मात्रै नभई सबै एसियाली मुलुकहरुमा पर्नेछ मौसम परिवर्तनको कारण । भारत नेपालबाट बिशेषतः बिजुली र पानि चाहन्छ । नेपाली नदिहरुमा नेपालभित्रै बाँध बाँधि भारत पुर्याउने र नेपाल डुबाई भारतको उद्धार गर्ने उसको नीति केहि हदसम्म सफल भएको छ । भारतको बिकास होस् ठिक छ तर भारतलाई राम्रो बनाउन नेपाल बिगार्न मिल्दैन । वर्गसंघर्ष बाहेक सायद भारत र बिदेशप्रतिको अनाबश्यक बफादारिता र देशप्रतिको घात नै कथित जनयुद्ध र संघर्षको कारण थियो । तर अब हामी सचेत हुनु जरुरी छ । यदि बिकास गर्ने हो भने राज्य बलियो हुनुपर्छ । नेपालमा अमेरिकि, भारितय, चिनिया कुनै मोडेलको नीति हुबहु नल्याई तीनीहरुको राम्रा पक्षहरुलाई मात्र अनुसरण गर्नुपर्छ । पेट्रालको खपत कम गर्न धेरै यात्रु ओसार्न सक्ने ठुला गाडिहरु चलाउनु पर्छ र तीनीहरु बिजुलीबाट चलाउनु पर्छ । जनसंख्या बृद्धि कम गर्न बिशेष जोड दिइनुपर्छ । बिदेशिइएका दक्ष जनशक्तिलाई देशमा फर्कने वातावरण बनाउनुपर्छ । म बरु दिनमा एकछाक मात्र खाएर बाँच्न तयार छु तर स्वाभिमानी र आत्मनिर्भर देशको नागरिकका रुपमा बाँच्ने वातावरण बनाइयोस् । त्यसैले जनआन्दोलन सकिएको छैन र जारी रहिरहनेछ अबको नेतृत्वलाई सहयोग सहजिकरण र खबरदारी गर्न । जय नेपाल !!!!

Saturday, May 31, 2008

माओवादी झन्डामा अमेरिकि


माईतिघर मन्डलाबाट बानेश्वरतिर जुलुस जाँदै गर्दा माओवादी झन्डामा एक अमेरिकिलाई देखेपछि मैले यो फोटो खिच्न भ्याएँ।

Thursday, May 29, 2008

गणतन्त्रभित्र म मेरो र देशको भविष्य खोज्नेछु ।



गणतन्त्र उर्लेर आयो……





"गणतन्त्र उर्लेर आयो, आउने थिएन जनताले बोलायो...." हँसिया हथौडाको चिन्ह कोरिएको लाल झन्डा बोकेर उर्लेको जनसागर नयाँ बजार पुग्दा यहि भाकामा गीत गाएको मैले सुनेँ । अलि पर पुग्दा केहि युवाहरुले राजतन्त्र बिरुद्धको आक्रोश पोख्दै गाए "के हुन्छ कुन्नी, किन होला हत्यारो ज्ञानेलाई छप्काउँदै हुन्नी...." केहि महिला र पुरुषहरु भने गाउँदै थिए "सीमली छायाँमा बसी भरिया लामो सास फेरेको उमेर भइसक्यो असी झन ठुला दुःखले घेरेको..." आँतै सुक्ने टन्टलापुर घामदेखि कदापि बिचलित नभई लाखौँ जनता सडकमा ओर्लेको मैले देखेँ । घरका छतहरुबाट गणतन्त्र स्वागत जुलुसमाथी ठाउँ ठाउँमा जग/पाइपमार्फत पानि छरेर समर्थन र ऐक्यवद्धता जनाएको दृष्यले जुलुसका अन्य सहभागिलाई झैँ मलाई पनि कम्ति पुलकित गराएन । बच्चा बुईमा बोकेर स्वागत जुलुसमा सहभागि हुनेको संख्या पनि कम थिएन । मैले तत्काल एउटा बिदेशी साथीले भनेको सम्झेँ "नेपालीमा राजनैतिक चेतना निकै कम छ जस्तो मलाई लाग्यो ।" सोचेँ "उसलाई फोटो र भिडियो खिचेर पठाइदिउँ नेपालीको राजनैतिक चेतना बलियो भएको प्रमाण दिन ।" पन्चै बाजामा मलाई पनि छमछम नाचुँ जस्तो लाग्यो । सबै दल मिलेर जुलुस निकालेको हेर्ने र त्यसमा सहभागि हुने रहर भए पनि त्यो जुलुसमा अरु दलहरुको सहभागिता थिएन । रत्नपार्क पुग्नै लाग्दा एकाएक मैले पनि आफ्नो बेसुरे तालमा गाएँ अरुलाई साथ दिन "गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ...।" एकछिनपछि मलाई आफुले दुवै हात मुठ्ठी बटारेर माथि उचालेको आभास भयो । फोटो खिच्न व्यस्त म कतिखेर क्यामेरा थन्काई मुठ्ठी बटार्न पुगेछु थाहै भएन । मैले मुठ्ठी फुकाउने प्रयत्न गरिन । माइतिघर मण्डला पार गरिसकेपछि एउटा अनौठो दृष्य देखेँ, देखेँ एउटा बिदेशी माओवादीको झन्डा बोकी जुलुसको एउटा भागको नेतृत्व गरिरहेको छ । उ नारा लगाउँदै थियो "पारस गुण्डा" अरुहरु सघाउँदै थिए "रुखमा झुन्डा" । फेरी एकछिनपछि उ चिच्याउँथ्यो "ज्ञाने चोरू" अरुहरु पछ्याउँदै भन्थे "देश छोड ।" उसको जोस र उत्साह देख्दा मलाई पनि उफ्रुँ उफ्रुँ लाग्यो । अन्तराष्ट्रिय सम्मेलन केन्द्र पुग्दा सुर्य र तारा अंकित झण्डाहरु पनि देख्दा अझ खुसी लाग्यो । जे होस ढिलै भएपनि माओवादीको संविधानसभा र गणतन्त्रको एजेण्डालाई अरु दलहरुले स्विकारेको देख्दा आनन्दित भएँ । सायद अब देशमा शान्ति र समुन्नती देख्न पाइएला कि ? अब साँढे दुई करोड नेपाली फुटेर होइन जुटेर आधुनिक समृद्ध र न्यायपुर्ण नेपालको निर्माणमा लाग्नुपर्छ ।

Wednesday, May 28, 2008

अव संघिय गणतन्त्र नेपाल

२४० बर्षको निरंकुस राजतन्त्र समाप्त भएको छ ।

Monday, May 26, 2008

Sunday, May 18, 2008

प्रसङ्ग उच्च कोशी बाँधको


नेपालमा निकै नै आलोचित तर भारतका लागि निकै नै बहुप्रतिक्षित एवं महत्वाकांक्षी उच्च कोशी बाँध अहिले व्यापक बहसको बिषय भएको छ । बिहार डुब्न नदिनको लागि पूर्वी नेपाल जलमग्न गराउने भारतको योजना सफल भयो भने नेपालको लागि टनकपूर भन्दा हजारौ गुणा आत्मघाती हुन जानेछ । आशा गरौँ नयाँ नेतृत्वले राष्ट्रिय स्वाभिमान र जनताको भलाई सुनिश्चित गरी हामीलाई पहिलाकाले झै निराश बनाउने छैन ।

Friday, May 16, 2008

धन्यवाद दिदी !



नजिकै पसल छ । पसलमा काम नभएको बेलामा यी दिदी यस्तै ऊनी धागो बनाउने काम गर्छिन् । गाउँ घरमा सिकेको सिप अहिले उनलाई काम लागेको छ । "कहिले काहिँ त महिनाको दुई तीन हजार सम्म कमाई हुन्छ" आफ्नो कामप्रति गर्व गर्दै उनले सुनाइन् । "पसलमा सँधै काम हुदैन त्यत्तिकै के बस्नु भनेर यो काम थालेकी" पसलमा भर्खरै आएका दुई जना ग्राहकलाई एकछिन पर्खने इसारा गर्दै उनले भनिन् । हातमा सीप भएका कैयौँ नेपाली महिलाहरु फुरसदमा या त प्रायः टेलिभिजनको अगाडि झुम्मिरहेका हुन्छन् या त अनाबस्यक गफ गाफमा दिन बिताइदिन्छन् । समयलाई कुनै उत्पादक काममा मात्र खर्च गर्नुपर्छ भन्ने सोच हामी नेपालीलाई पनि आईदिए कति जाति हुन्थ्यो हगि ? अनपढ तर पनि शिक्षित र उद्यमशिल यी दिदीलाई मेरो लाख लाख धन्यवाद छ ।

Thursday, May 15, 2008

बहस तिव्वतको

बिगत् केहि हप्तादेखि मेरा दिनहरु निरस र निस्सार लागिरहेछन् । पूरा देशनै आशावादी भैरहेको स्थितिमा ममा भने त्यसको बिऊ पनि छ जस्तो लागको छैन । यसैबिच एक साँझ इमेलमा बेनलॆ (चिनजानको बेल्जियमको युवा जो नेपालमा गा्रमिण पर्या पर्यटनको बिकास गर्न सकिन्छ कि भनेर लागिपरिरहेको छ) लेखेको रहेछ "म भोली तिम्रो गाउँ जाँदैछु मैले टिकट किनिसकेँ । तिमी कहाँ छौ? काठमाडौँमा नै थिए, घर जानु पर्ने भयो। भोलीपल्ट गाउँ पुगिसकेपछि सुरु भयो उसका निरास कहानीहरु । बिगत दुई तीन महिनामा? उसको काम नै पश्चिमा पत्रकारहरुलाई नेपालमा भैरहेको "स्वतन्त्र तिब्बत अभियान" का बारेमा रिपोर्टिङ गर्न सघाउने भएको रहेछ । ऊ गुनासो गर्दै थियो "पश्चिममा हरेक अखबार र अन्य मेडियामा चीन बिरोधी/तिब्बत समर्थकहरुका गतिविधिका बारेमा पहिलो तथा प्रमुख खबर बन्छ तर मित्र तिमीहरु भने यसलाई वास्तै गरिरहेका छैनौ । यस बारेमा नेपाली मेडियामा भित्री पेजमा वा खबरको अन्त्यमा केहि शब्दहरु मात्र म देखिरहेको छु । हरेक दिन नेपालमा तिब्बती शरणार्थीहरुको शान्तिपूर्ण बिरोध कार्यक्रममाथी प्रशासनले निर्मम तरिकाले दमन गरिरहेको छ । तर पनि तिम्रो मेडिया भने यसबारे चुपचाप छ । हेर जो कोहिलाई पनि आफुलाई चित्त नबुझेको बिषयमा बिरोध/असन्तुष्टी प्रकट गर्ने अधिकार छ चाहे त्यो महाशक्तिसाली चीनकै बिरुद्ध किन नहोस् । तिब्बतीहरुलाई पनि स्वतन्त्र र आत्मसम्मानपुर्वक बाँच्ने अधिकार छ र त्यसका लागि नै उनीहरु संघर्ष गरिरहेका छन् । मैले सोधेँ "पश्चिमाहरु के चाहन्छन् ?" उसले उत्तर दियो "स्वतन्त्र तिब्बत जुन तिब्बतमाथी चिनिया नियन्त्रण हुनुपूर्व थियो ।" म शसङ्कित भएँ "स्वतन्त्र तिब्बतको अर्थ के हो? नेपाल र चीन बिच तिब्बत नामको अर्को मुलुक ? वा तिब्बतीहरुको सर्वमान्य मानव अधिकारको शुनिश्चितता जस्तो की देशका नागरिकले पाउनुपर्ने अधिकारू ? उसले यस पटक होसियारी पूर्वक मेरो जिज्ञासा मेटाउने प्रयास गर्यो "तिब्बतीहरु पहिले त उनीहरुको परम्परागत सांस्कृतिक अधिकार चाहन्छन् जसमाथी अस्वभाविक तरिकाले चीन सरकारले नियन्त्रण गरिराखेको छ । त्यसपछि स्वशासित क्षेत्र तिब्बतलाई केन्द्र सरकारले बढि अधिकार दिनुपर्छ आत्म निर्णयको अधिकार सहित । र यदि कालान्तरमा तिब्बतीहरुले छुट्टै मुलुक बन्ने चाहाना गर्छन भने उनीहरुले त्यो अधिकार समेत पाउनेछन् ।" म फेरी अलि बढि नैँ पडकेँ "चीन टुक्राएर तिमी के पाउँछौ ? हामी के पाउँछौँ ? मलाई जहाँसम्म लाग्छ नेपाल अमेरिकाको लागि चीन बिरुद्धको गोटी बन्नु हुँदैन । हामी हाम्रो उन्नतीशील र सोझो छिमेकीसँग सुमधुर सम्बन्ध चाहान्छौ । फेरी आफ्नै दुःख तीन तला भनेझैँ भएको बेलामा अरुका बारेमा टाउको दुखाउने बेला हाम्रो छैन । अर्कालाई डेरा आँखाले हेर्यो भने पनि मानव अधिकारको हनन भयो भन्ने तिमीहरु केवल एक लादेन र सद्दाम हुसेनका लागि अमेरिकाले दशौँ लाख निर्दोष जनताको निर्मम हत्या गर्दा कहाँ थियौ ? मलाई लाग्छ अहिलेको फ्री तिब्बत मुभमेन्ट पनि अमेरिकाकै एक चाल हो र तिमीहरु चलाख तर मुर्ख गोटीहरु । साथी यदि देश टुक्रनु तिमीले भनेझैँ सामान्य हो भने तिमीहरुले पनि तुरुन्त फ्लेमिसहरुको बाहुल्यता भएको उत्तरी बेल्जियमलाई उनीहरुले चाहे झैँ अलग हुन दिनुपर्छ । एउटा स्वतन्त्र र छुट्टै युरोपेली मुलुक हुन दिनुपर्छ बेल्जियमबाट अलग्गिएको ।" उ मेरो लामो र उसको बिचार प्रति तिव्र असहमति जनाउने खालको भाषणले अवाक् भएको जस्तो लाग्यो । केहि दिन अघि उसले भनेको थियो कि उसको देशको उत्तरी भागमा छुट्टै मुलुकको माग भइरहेको छ । उत्तरी भाग धनी छ र उनीहरु सम्पन्न भाग अलग्याउन चाहान्छन् । त्यसदिन बेलुकी खाना खाने बेलामा फेरी उसले भन्यो "धन (उसको गाइड) ले पनि तिम्रो जस्तै कुरा गर्यो ।" मैले थाहा पाएँ उ अब सार्है नै बिरक्तिइसकेको छ । सुत्ने बेलामा मैले उसलाई फुल्याउने प्रयास गर्दै भनेँ "दिउँसोको कुराले तिमीलाई नराम्रो त लागेको छैन नी ?" ऊ केही जवाफ नै नदिई अर्को पट्टि फर्कियो अनि म पनि बिनासित्तिमा मोरो सँग पड्केछु भनेर पछुताउँदै निदाउने प्रयास गर्न थालेँ उ भने घरी यता त घरी उता गर्दै रात कटाउँदै थियो ।

Sunday, February 24, 2008

अचम्मको रहर!!






"आमा!, मे आई हेल्प यु ?", २१ बर्षिया स्लोभेनियाली यूवती मोयसाले घरबेटी आमापट्टि फर्केर मुस्काइन् जवाफमा घरबेटी आमाले पनि स्विकारोक्तिको ईशाराले मुन्टो हल्लाइन् । अनि ति यूवती धमाधम जुठा भाँडा लिएर मस्काउन थालिन् केहि समय पछि फेरि चुलेत्रो (एक प्रकारको काँडादार डाले घाँस) खुर्कन र काट्न थालिन् । फेरि दिउँसो "बाबा चिया" भन्दै घरबेटी बा लाई एक कप चिया बनाएर दिईन् । बा दंग देखिन्छन् । बेलुका बालबालिकाहरु सँगै धमाधम बालन नाच्नमा मस्त यी यूवती रमाइलो अनुभव सँगालेर फर्किईन् । ग्रामिण पर्या पर्यटनको सुरुवात भर्खरै भएको रसुवाको ज्याङ्गलाङ्गमा बालबालिकाहरुले यस्तै पर्यटकहरुबाट सांस्कृतिक कार्यक्रम मार्फत उठेको रकमले बाल पुस्तकालय र सांस्कृतिक केन्द्रको स्थापना गरेका छन् । व्यवस्थापन गर्न सके यो पर्यटकिय संस्कार ग्रामिण विकासका लागि कोशेडढुङ्गा सावित हुनसक्छ ।